बाढी–पहिरो कहर : चार जनाको ज्यान गयो, १४ जना वेपत्ता
काठमाडौँ : अविरल वर्षाको कारण आएको बाढी पहिरोका कारण ४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकमा ६६ , कास्कीमा १ , पाल्पामा १ र स्याङ्जामा १ गरी ६९ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रधान कार्यालयका अनुसार यो विवरण जेठ ३० देखि बुधवारसम्मको हो। बाढी, पहिरो र डुबानमा परी पाल्पामा १ , कास्कीमा १ , सिन्धुपाल्चोक १ र डोटीमा १ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये ३ जना पुरुष र १ जना महिला छन्।
बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ७ र जाजरकोटमा ७ गरी १४ बेपत्ता छन्। बेपत्तामध्ये १० पुरुष र ४ महिला छन् ।
सिन्धुपाल्चोकमा ४ , डोटीमा २ , कास्कीमा १ र स्याङजा १ जना गरी जम्मा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ६ पुरुष र २ किशोरी छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवलपरासी(पश्चिम) लगायतका स्थानहरूमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन्। ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६२ वटा घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायाको मृत्यु भएको छ।
अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन्। उक्त घटनाबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू उद्धारमा सक्रिय रूपमा संलग्न रहेका छन् ।
असार २, २०७८ बुधबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।