एमालेले सरकारलाई भन्यो 'विपत्तिमा परेकाको तत्काल उद्धार गर'
काठमाडौँ : सत्ताधारी दल नेकपा एमालेले सरकारलाई बाढी पहिरोमा परेर समस्यामा परेका नागरिकहरूको तत्काल उद्धार गर्न आग्रह गरेको छ। प्रधानमन्त्री एमालेका अध्यक्ष केपी ओली नै छन्। विपद्को समयमा सबै संरचना परिचालन गर्ने गृह मन्त्रालयको नेतृत्वमा एमालेका खगराज अधिकारी छन्।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधवार प्रेस विज्ञप्ति जारी गरेर आफ्नै पार्टीका प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारलाई उद्धार र राहत प्रभावकारी ढङ्गले अगाडि बढाउन आग्रह गरेका हुन्। उनले विज्ञप्तिमा मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले घरबार विहीन बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न आग्रह गरिएको छ।
ज्ञवालीले जारी गरेको विज्ञप्तिमा सरकारले हालै पारित गरेको विपद् प्रतिकार्य योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। विपत्तिको समयमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवा पङ्क्तिलाई आह्वान समेत गरिएको छ।
असार २, २०७८ बुधबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।