बाग्मती प्रदेशको बजेट : सरकारको स्वायत्त हुने गरी आम सञ्चार गृह स्थापना र सञ्चालन गर्ने बुँदा फिर्ताकाे माग
काठमाडौं : नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले बाग्मती प्रदेश सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको आम सञ्चार गृह स्थापना र सञ्चालन गर्ने बुँदा फिर्ता लिन माग गरेको छ।
प्रदेश समितिले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारसँग यस्तो माग गरेको हो।
प्रदेश सरकारले हिजो सार्वजनिक गरेको बजेट वक्तव्यको १४४ बुँदामा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा रहने गरी आम सञ्चार गृह स्थापना र सञ्चालन गर्न १० करोड रूपैयाँ बजेट विनियोजन गरेको उल्लेख छ।
उक्त कार्य प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिलाई संकुचित बनाउने प्रदेश समितिको ठहर छ।
‘एकातर्फ जनताको सेवा समर्पित हुनुपर्नेमा आफै सञ्चार गृह खोल्नेतिर लाग्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा प्रदेशका सञ्चारगृह र सञ्चारकर्मीको संरक्षण, प्रवर्द्धन तथा क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार उदासिन भएको आरोप लगाइएको छ।
असार २, २०७८ बुधबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।