कुलो थुन्न गएका माधव इन्द्रावतीसँगै बगे
काठमाडौँ : खोलामा बाढीको सङ्केत देखेर कुलो थुन्न गएका माधव भण्डारी घर फर्कन पाएनन्। माछा पोखरीमा पानी ल्याउन बनाएको कुलो थुन्न उनीसँगै गएकाहरू इन्द्रावतीसँगै बगे।
उर्लिएको इन्द्रावती बस्तीमा पसेर वितण्डा मच्चाइरहेको छ। तीपिनी, चनौटेका घरहरू इन्द्रावतीसँगै बगिरहेका छन्। मेलम्ची बजारभित्रै पानी पस्दा २० भन्दा बढी घरहरू डुबेका छन्। बाढीमा सात जना बगेको अनुमान छ। एक जनाको शव फेला परे पनि अन्यको अत्तोपत्तो छैन।
मेलम्ची आयोजनाको जमेको लेदो सहितको पानी बाहिर निस्कँदा नदी थुनिएर इन्द्रावती उग्र भएको स्थानीयको अनुमान छ। मेलम्चीको ड्याम साइड पुरिएको छ भने केही पुलहरू बगिसकेका छन्।
इन्द्रावतीमा आएको बाढीले ठुलो जनधनको क्षति पूर्याएपछि केन्द्रीय नेताहरू जिल्लातिर लागेका छन्। नेपाली काँग्रेसका नेता मोहन बस्नेत, राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा क्षति पूर्याएको स्थानमा पुगेका थिए। सिन्धुपाल्चोकका सांसद तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ भने हवाई भ्रमण गरेर काठमाडौँ नै फर्किए।
मेलम्ची पुगेका बस्नेतले तल्लो भेगको बस्ती जोखिममा रहेको बताए। चनौटे बजार पुरै ध्वस्त भएको उनले बताए। सडक मार्गमा रहेका पुलहरू जोखिममा रहेको र पुल बग्दा राहत र बिरामीलाई उपचारका लागि अन्यत्र लैजान समेत कठिन हुने बताए।
बाढीले बगाएका एक जना मृत अवस्थामा फेला परेका जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका मात्रै ६ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।
इन्द्रावती गाउँपालिका- ७ मा मृत फेला परेका व्यक्तिको नाम खुल्न सकेको छैन। बाढीमा फसेका ४ जनालाई उद्धार गरेर उपचारका लागि ललितपुरको बिएण्डबी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।
बाढीले मेलम्ची र इन्द्रावती जोड्ने पुक्की पल बगाएको छ।

असार २, २०७८ बुधबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।