अहंकार त्यागेर पार्टी फुटबाट जोगाउन एमाले वरिष्ठ नेता खनालको आह्वान
काठमाडौं : उपचारका लागि भारत जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अहंकार त्यागेर पार्टीलाई फुटबाट जोगाउन नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
उनले बुधबार दिउँसो वक्तव्य जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई यस्तो आह्वान गरेका हुन्।
‘रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका बैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्तालाई विशेष आह्वान गर्न चाहान्छु,’ वक्तव्यमा भनिएको छ, ‘पार्टीलाई फुटबाट धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्याै भने मात्र हामी सफल हुन सक्छौं र सिंगो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुटफुट र विभाजन होइन, एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहान्छु।’
उनले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन्।
‘राजनीतिक दलहरु विवाद र धु्रवीकरणले विभाजन उन्मुख भएका छन्। त्यही अन्तरसंघर्षको पराकम्पन हाम्रो तत्काली पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पर्याे र अहिले नेकपा (एमाले)मा परिरहेको छ। राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र र स्थायित्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका लागि दुर्भाग्यपूर्ण हो,’ वक्तव्यमा भनिएको छ।
केही दिनअघि अस्वस्थ भई नर्भिक अस्पतालमा उपचार गराइरहेका वरिष्ठ नेता खनाल आज थप उपचारका लागि भारत जान लागेका हुन्।
असार २, २०७८ बुधबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।