नेवार समुदायले मनाए सिथि नख पर्व 

नेवार समुदायले मनाए सिथि नख पर्व 

काठमाडौँ : ज्येष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज बुधबार सिथि नख पर्व मनाएका छन्।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गर्ने चलन छ। 

ग्रीष्म ऋतुमा मनाइने सिथि नख पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ। सिथि नखका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन्।

बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो।

साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखका दिन पानीको मूलको सफाइ गर्ने गरिएको स्थानीयले बताएका छन्। 

असार २, २०७८ बुधबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।