१० जिल्लामा बाढीको वितण्डा : २ जनाको मृत्यु, ६ जना बेपत्ता, हजार बढी विस्थापित
काठमाडौँ : निरन्तर परेको पानीका कारण १० जिल्लाको जनजीवन प्रभावित बनेको छ। अविरल वर्षाको कारण पाल्पा, सिन्धुपाल्चोक, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन ,नवलपरासी(पूर्व) र बाजुराका केही स्थानहरूमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थान डुबानमा परेका छन्।
बाढीका कारण २ जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा मात्र ६ जना बेपत्ता छन्। पहिरोका कारण एक हजार बढी विस्थापित भएका छन्।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ स्थित मेलम्ची खोलामा मङ्गलवार आएको बाढीले सोही गाउँपालिका-१ मा रहेको सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोस्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका-७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका-१० र ११ जोड्ने पक्की पुल बगाएको छ।
हेलम्बु गाउँपालिका-२ किउल बस्ने ३१ वर्षीय माधव भण्डारी सहित ७ जना सम्पर्कमा नरहेकोले प्रहरीले खोजी गरिरहेको छ। बाढीबाट मेलम्ची बजार डुबेको छ। एक जनाको शव फेला परेको छ भने चार जनाको उद्धार भएको छ।
पाल्पाको रिप्दीकोट गाउँपालिका-४ सिलाङ्थोकस्थित मन्छीप बस्ने मान बहादुर भन्ने महेन्द्र भट्टराईको घरमा मङ्गलवार साँझ पहिरो जाँदा पहिरोमा पुरिएर उनकै छोरा १९ वर्षीय मदन भट्टराइको मृत्यु भएको छ। पहिरोबाट महेन्द्रको घर पूर्ण रुपमा क्षति भएको छ । पाल्पा, तानसेन नगरपालिका-८ जरेपिपलस्थित सिद्धार्थ राजमार्ग, तानसेन नगरपालिका-८ गौडे पुल नजिकै सिद्धार्थ राजमार्ग र रिप्दीकोट गाउँपालिका-३ हार्थोक नजिक पाल्पा-गुल्मी सडक खण्डमा अविरल वर्षाको कारण मङ्गलवार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरोध भएको छ।
मनाङको चामे गाउँपालिका-४ मा रहेको जिल्ला हुलाक कार्यालयको भवन, ६ वटा घर, सोही ठाउँस्थित रहेको घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल, निमार्णाधिन आमा समूहको भवन पछाडिको भाग, २ वटा तातोपानी कुण्ड र नासो गाउँपालिका-३ बस्ने शेर बहादुर गुरुङको घर बगाएको छ।
जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले चामेका ३० घरका ३ सय जनालाई जिल्ला कारागारमा स्थानान्तरण गर्नुका साथै नासो गाउँपालिका-१ का ४८ घरका ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
अविरल वर्षाको कारण लमजुङको दोर्दी खोलामा आएको बाढीले चतुरे बिक लगायत ७ जनाको घर बगाएको छ। २ वटा घर जोखिममा परेका छन्। सोही गाउँपालिका-६ कृतिपुर बस्ने कृष्ण घलेको कुखुरा फर्म बगाउनुका साथै सुप्पर दोर्दी हाइड्रो पावरको ड्याममा समेत क्षति पुर्याएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-३ फुतवाङस्थित गोरुसिङ्गे-सन्धिखर्क सडकमा मङ्गलवार राति पहिरो जाँदा सडक अवरोध भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका-१३ भँगेरी भन्ने ठाउँमा पहिरो झर्दा रिडी तम्घास सडक अवरोध भएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका-६ देउरालीस्थित हेटौँडा भिमफेदी कुलेखानी सडक-खण्डमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरोध भएको छ।
चितवनको भरतपुर महानगरपालिका-३ बारघरे, सोही महानगरपालिका-१६ गुम्बा चौर र झनझनेस्थित अविरल वर्षाको कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पसेको छ। बारघरेको ३० घरधुरी, झनझनेको १ सय ५० घरधुरी र गुम्बा चौरको ३० घरधुरीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिका-२ बोटे टोलमा नारायणी नदीमा आएको बाढी पस्दा प्रभावित भएका करिब १ सय ५० घरधुरीका परिवारलाई इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ।
बाजुराको बुढीन्नदा नगरपालिका-४ बस्ने जयवीर धामी र मने रोकायाको घर सोही ठाउँस्थित घोडाकोटी खोलाले कटान गरी बगाएको छ। उक्त घरका परिवार र जोखिममा रहेका १३ बटा घरका मानिसलाई सुरक्षित स्थानमा सरिसकेका छ।
असार २, २०७८ बुधबार १३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।