नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौँ : हिजो बेलुकी अकस्मात् जल सतह बढेर खतराको तह पार गरेको सिन्धुपाल्चोकको जलविरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अहिले जल सतह घट्दो क्रममा रहेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जल सतह घट्दो क्रममा रहेको जानकारी दिएको हो।
महाशाखाले कनकाई, कोसी, बागमती, कर्णाली, महाकाली र यसका सहायका नदीमा पानीको बहाव बढिरहेको जनाएको छ। आज नारायणी, कर्णाली र महाकाली जलाधारका केही साना सहायक नदीमा बहाव बढ्ने अनुमान महाशाखाले गरेको छ।
महाशाखाका अनुसार पश्चिम राप्ती, तिनाउ, बबईका साना नदी जलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्नेछ।
कालिगण्डकी, भेरी, रसुवा, सिन्धुपाल्चोक, काठमाडौँ, चितवन, मकवानपुर, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा र नवलपुर हुँदै बहने साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने अनुमान महाशाखाले गरेको छ।
यस्तै परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला आसपास भई बहने नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने अनुमान महाशाखाको छ। महाशाखाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
असार २, २०७८ बुधबार १२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।