१९ घण्टा देखि टापुमा फसेका चार जनाको उद्धार
दाङ : दाङको राप्ति नदीबिचको टापुमा फसेका चार जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
लमही नगरपालिका ७ हसनापुर र राजपुर गाउँपालिका २ बेला स्थित राप्ती नदीकोबिच टापुमा हिजो दिउँसो २ बजेबाट फसेका चार जनालाई सशस्त्र प्रहरीले १९ घण्टापछि आज बिहान उद्धार गरेको हो।
टापुको दुवै तिर राप्ती नदीले घेरिएको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरू अविरल वर्षासँगै बाढी आएपछि अलपत्र परेका थिए। करिब ५० वटा गाई बस्तुसँगै अलपत्र परेका उनीहरूलाई आज बिहान उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
टापुमा रात कटाएका लमही ७ का ४८ वर्षका मन्सराम चौधरी, राजपुर २ का ५० वर्षका सावित्री यादव, २६ वर्षका राधेश्याम यादव र राजपुर ३ का २५ वर्षका गणेश यादवलाई उद्धार गरिएको हो।
आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलवस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माको कमान्डमा गएको बिपद व्यवस्थापन सहितको टोलीले ९ बजे चारै जनालाई उद्धार गरी घर पठाएको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार उनीहरूले चराउन लिएर गएका गाईबस्तु टापुमा छन्।
असार २, २०७८ बुधबार १०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।