लेनदेन र भागबन्डाको आधारमा पदाधिकारी नियुक्ति तत्काल रोक्न विवेकशीलको माग

लेनदेन र भागबन्डाको आधारमा पदाधिकारी नियुक्ति तत्काल रोक्न विवेकशीलको माग

काठमाडौं : विवेकशील पार्टीले प्रतिष्ठानहरू तथा विश्वविद्यालयहरू माथि हुने गरेको अनुचित राजनीतिक हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको छ।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको तत्काल छानबिन गरी भ्रष्टलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि विवेकशील पार्टीले भनेको छ। 

उसले प्रतिष्ठानलाई स्थापनाकालदेखि नै अनियमितताको शृङ्खलाले जीर्ण बनाइनु लज्जास्पद भएको बताएको छ। अनियमितताको निष्पक्ष छानबिन गर्नुको सट्टा अनियमितता विरुद्ध आवाज उठाउने चिकित्सकलाई कारबाहीको प्रक्रिया अगाडि बढाएकोमा विवेकशील पार्टीले आपत्ति जनाएको छ। विवेकशीलले विज्ञप्ति निकालेर प्रतिष्ठानका फ्याकल्टीहरू, रेजिडेन्ट डाक्टरहरू, कर्मचारीहरू, अध्ययनरत विद्यार्थीहरू लगायतले दुई बुँदे माग राख्दै सुरु गरेको संयुक्त आन्दोलनमा ऐक्यबद्धता पनि जनाएको छ। 

बिपी प्रतिष्ठान लगायत देशका प्रतिष्ठानहरू तथा विश्वविद्यालयहरू जीर्ण अवस्थामा पुग्नुमा विभिन्न समयका सरकारहरूले आर्थिक लेनदेन तथा दलगत स्वार्थको आधारमा पदाधिकारीहरू नियुक्ति गरी पार्टीहरूको भर्ती केन्द्र बनाउनु नै प्रमुख कारण भएको उसले ठहर गरेको छ। विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिमा केपी ओली सरकारले पनि यही क्रम दोहोर्याएको विवेकशीले आरोप लगाएको छ। 

असार २, २०७८ बुधबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।