संसद विघटन मुद्दा : नेपाल बारका तर्फबाट वैद्य र पाठक एमिकस क्युरीमा मनोनयन
काठमाडौं : नेपाल बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठकलाई अदालतका सहयोगी (एमिकस क्युरी)का रुपमा सहभागी हुने भएका छन्।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले वरिष्ठ अधिवक्ताद्वय वैद्य र पाठकलाई बारका तर्फबाट एमिकस क्युरीका रुपमा पठाउने निर्णय भएको जानकारी दिए।
जेठ ८ मा भएको संसद विघटनको मुद्दामा जेठ २६ मा १ सय ४६ सांसदको तर्फबाट परेको रिटमा आदेश गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले एमिकस क्युरी गठनको आदेश गरेको थियो।
आदेशमा नेपाल बार र सर्वोच्च बारका तर्फबाट दुई दुई जना वरिष्ठ अधिवक्ताको नाम उपलब्ध गराउन भनिएको थियो। सर्वोच्च बारले आजै मात्र एमिकस क्युरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई पठाउने निर्णय गरेको थियो।
एमिकसले इजलासलाई निष्पक्ष रुपमा राय उपलब्ध गराउँछ।
अधिवक्ता किर्तिनाथ शर्मा पौडेल एमिकसले इजलासलाई निष्पक्षरुपमा राय उपलब्ध गराउने बताउँछन्। एमिकसको रायलाई इजलासले ग्रहण गर्ने वा नगर्ने विषय भने बाध्यकारी नहुने उनको भनाइ छ।
असार १, २०७८ मंगलबार २२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।