सर्वोच्च बारले घिमिरे र केसीलाई एमिकस क्युरीको रूपमा पठाउने

सर्वोच्च बारले घिमिरे र केसीलाई एमिकस क्युरीको रूपमा पठाउने

काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएसनले संसद विघटन मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा पठाउने वरिष्ठ अधिवक्ताहरूको नाम टुंगो लगाएको छ। 

सर्वाेच्च बारको आज बसेको बैठकले संसद विघटन मुद्दामा राय दिन वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा पठाउने निर्णय गरेको सर्वोच्च बारका कार्यकारी सदस्य विकास भट्टराईले जानकारी दिए। 

संसद विघटन मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासले गत जेठ २६ मा १ सय ४६ सांसदको तर्फबाट परेको रिटमा आदेश गर्दै एमिकस क्युरी गठनको आदेश गरेको थियो।  

यसका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसियसनबाट दुई दुई जना वरिष्ठ अधिवक्ताको नाम उपलब्ध गराउन भनिएको थियो। 

नपाल बारले भने हालसम्म नाम टुंगो लगाएको छैन।

यसअघिको संसद विघटन मुद्दामा समेत सर्वाेच्चले एमिकस क्युरीको माग गरेको थियो।

एमिकसले निष्पक्षरूपमा इजलासलाई राय उपलब्ध गराउँछ। एमिकसलाई असार १० गतेभित्रमा लिखित बहस नोट पेस गर्ने समय दिइएको छ।
 

असार १, २०७८ मंगलबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।