सेवा प्रवाहको दायरा बढाउँदै सर्वोच्च, निषेधाज्ञामा थप ६ प्रकारका मुद्दाको दर्ता र सुनुवाइ हुने
काठमाडौं : सर्वोच्च अदालतले सेवा प्रवाहलाई खुकुलो बनाउँदै मुद्दा दर्ता र सुनुवाइको दायरा बढाउने निर्णय गरेको छ।
सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले असार ७ गते (निषेधाज्ञा अवधि)सम्म थप ६ प्रकारका मुद्दाको दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको सर्वाेच्चले जारी गरेको सूचनामा उल्लेख छ।
सूचनामा यसअघिको सेवा प्रवाहलाई निरन्तरता दिई सरकार निवेदक भएको दोहोर्याई हेरी पाउँ भन्ने निवेदन, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ नं. बमोजिमका थुनुवाका निवेदन र प्रतिवेदन, पुनरावलोकनसम्बन्धी निवेदन र राजस्व न्यायाधीकरणबाट फैसला भई अनुमतिका लागि परेका निवेदनको दर्ता र सुनुवाइ हुनेछ।
यस्तै, सरकारको तर्फबाट पर्न आएका विपक्षी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ र निसुमा रहेका मुद्दा तथा रिट निवेदनको सुनुवाइ हुने सहप्रवक्ता देवेन्द्र ढकालले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सर्वोच्चले पनि सेवाप्रवाहमा संकुचन गरेको थियो।
यसअघि कोरोना महामारीसँग सम्बन्धित, मौलिक हकसम्बन्धी, संवैधानिक व्याख्या गर्नुपर्ने र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सर्वाेच्चमा दर्ता र सुनुवाइ हुँदै आएको थियो।
पूर्ण बैठकले हदम्याद, म्याद र तारेखका लागि भने शून्य अवधि मान्ने यसअघिको निर्णयलाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ।
असार १, २०७८ मंगलबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।