आन्तरिक हवाई उडान खुल्ला गर्न वायु सेवा सङ्घको आग्रह
काठमाडौँ : वायु सेवा सञ्चालक सङ्घ, नेपालले निषेधाज्ञाका कारण बन्द रहेका आन्तरिक उडान सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय अनुशन्धानहरुले पनि हवाई यात्रा सङ्क्रमणरहित रहेको प्रमाणित गरिसकेको दाबी गर्दै सङ्घले आन्तरिक हवाई उडान सञ्चालनका लागि सम्पूर्ण सरोकारवाला निकायहरू सहित सरकारलाई आग्रह गरेको हो।
होटेल, पर्यटन, यातायात तथा हवाई क्षेत्रले अर्बौँको राजश्व गुमाएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए। उनले अघिल्लो हप्ता नै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आन्तरिक उडान सञ्चालन गर्न अनुमति मागेको बताए।
‘असार ७ गतेसम्म थप भएको निषेधाज्ञामा आन्तरिक उडान खुल्ला गरिएन,’कँडेलले उकेरासँग भने,‘मन्त्रालयबाट आन्तरिक उडान खुल्ला गर्न सीसीएमसीमा प्रस्ताव गएको तर निर्णय नभएको जानकारी पाएका छौँ।’
वायुसेवा सङ्घले सबै उडान एकै पल्ट खुल्ला गर्न आग्रह नगरेको जनाएको छ। हवाई यात्रा सङ्क्रमणरहित रहेको प्रमाणित भएकाले आन्तरिक उडान सञ्चालन गर्न दिन अपिल गरिएको प्रवक्ता कँडेलले बताए।
नेपालमा नेपाल एयरलाइन्स सहित १८ वटा हवाई कम्पनी सञ्चालनमा छन्। १० वटा कम्पनीले हेलिकप्टरको मात्रै उडान भर्दै आएका छन्। नेपाल एयरलाइन्स, बुद्ध, यति, सीता, तारा, श्रीएयर, गुणा र सौर्य एयरलाइन्सले आन्तरिक उडान भर्दै आएका छन्।
असार १, २०७८ मंगलबार १३:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।