सभापति देउवाकै जिल्लाले टुङ्गो लगाएन क्रियाशील सदस्यता 

सभापति देउवाकै जिल्लाले टुङ्गो लगाएन क्रियाशील सदस्यता 

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकै जिल्लाले क्रियाशील सदस्यता टुङ्गो लगाउन सकेको छैन।

अन्तिम पटक भन्दै पटक पटक थप गरिएको जेठ २५ गतेसम्मको समयमा पनि सभापति देउवाको जिल्लाबाट क्रियाशील सदस्यताको नाम आउन नसकेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। नेपाली काँग्रेसले अझै ७ जिल्लाको क्रियाशील सदस्यता केन्द्रमा आउन बाँकी रहेको जनाएको छ। काँग्रेसले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ। 

यसअघि १०१ स्थानको क्रियाशील सदस्यताको नाम सार्वजनिक गरेको काँग्रेसले अझै ७ जिल्लाको नामावली आउन बाँकै रहेको जनाएको हो। बारा, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया, प्युठान र डडेलधुरा जिल्ला कार्य समितिको क्रियाशील सदस्यता इन्ट्री हुन बाँकी रहेको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रामचन्द्र घिमिरेले जानकारी दिए। 

धेरै विवाद भएको सिन्धुपाल्चोक जिल्लाले पनि हिजो क्रियाशील सदस्यताको फारम लगेको घिमिरे बताए। ‘हिजो फारम गएको छ,’उनले भने,‘एक हप्ताभित्र केन्द्रमा बुझाउन भनिएको छ।’ सप्तरीमा तीन जना जिल्ला सदस्यको कोरोनाका कारण मृत्यु भएकाले नाम इन्ट्री हुन ढिला भएको उनले बताए। 

काँग्रेसमा अहिलेसम्म ८ लाख ३१७ जना क्रियाशील सदस्यको नाम इन्ट्री भइसकेको घिमिरेले जानकारी दिए। नेपाली काँग्रेसले ७७ वटै जिल्ला र सबै क्षेत्रीय समितिलाई अन्तिम पटक जेठ २५ गतेसम्म नाम इन्ट्री गर्न समय दिएको थियो। 

छानबिन समितिका सदस्य घिमिरेले अब एक हप्ताभित्र बाँकी जिल्लाबाट पनि क्रियाशील सदस्यको नाम आइसक्ने बताए। 

जेठ ३१, २०७८ सोमबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।