उपत्यकामा एक साता थपियो निषेधाज्ञा, हार्डवेयर पसल अपराह्न ४ बजेपछि खाेल्न दिइने

उपत्यकामा एक साता थपियो निषेधाज्ञा, हार्डवेयर पसल अपराह्न ४ बजेपछि खाेल्न दिइने

काठमाडौं : काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ।
 

उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको आज बसेकाे संयुक्त बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। 

जसअनुसार असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएकाे छ। जारी निषेधाज्ञा भाेलि (जेठ ३१ गते) राति १२ बजेसम्म छ। 

थपिएकाे अवधिमा निषेधाज्ञालाई केही खुकुलो बनाइएकाे छ। जसअनुसार अब तरकारी तथा खाद्यान्न पसललाई बिहान ११ बजेसम्म खुलाउन दिइने छ। यस्तै, पुस्तक पसललाई पनि बिहान ११ बजेसम्म खुलाउन दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए। 

यसैगरी, बैठकले अपराह्न ४ बजेपछि विकास निर्माणसम्बन्धी (हार्डवेयर) पसल पनि खुलाउन दिने निर्णय गरेको छ। 

होटल तथा रेस्टुरेन्टले टेकअवे सेवा दिएर खोल्न पाउने र अनलाइन डेलिभरी बिहान ७ बजेदेखि गर्न दिने निर्णय गरिएको उनले जानकारी दिए।

कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

जेठ ३०, २०७८ आइतबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।