देश र जनतालाई दीर्घकालीन असर पर्ने काम नगर्न सरकारलाई विपक्षी गठबन्धनको चेतावनी
काठमाडौं : विपक्षी गठबन्धनले देश र जनतालाई दीर्घकालीन असर पर्ने काम कारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ।
गठबन्धनले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै राज्यका सबै अंग र निकायलाई सरकारको संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन आग्रह गरेको हो।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेको माधवकुमार नेपाल समूहका तर्फबाट वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहबाट अध्यक्ष यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद् दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा कोरोना भाइरस संक्रमणको महामारीबाट देश आक्रान्त भइरहेका बेला प्रधानमन्त्रीले यो अवस्थाको दुरुपयोग गरी संविधानको अवहेलना र उल्लंघन गरेको आरोप लगाइएको छ।
‘देश कोरोना भाइरस संक्रमणको महामारीबाट आक्रान्त भइरहेको कठिन स्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्काे गरी भइरहेका छन्। सरकारको संरक्षणमा भ्रष्टाचार र कमिशनखोरी बढ्दो छ। राज्य संयन्त्रको स्वेच्छाचारी रुपमा दुरुपषेग हुँदैछ,’ विज्ञप्तिमा भनिएको छ।
संघीय संसद्मा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याइनुले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतो पुनः प्रकट भएको विज्ञप्तिमा उल्लेख छ।
जेठ १६, २०७८ आइतबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।