सरकारले सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको २ महिनाको रकम जम्मा गरिदिने
काठमाडौँ : सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले २०७८ जेठ र असारमा जम्मा गर्नुपर्ने योगदान रकम सरकारले जम्मा गरिदिने भएको छ।
सरकारको आर्थिक वर्ष २०७८।०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका हुन्। गत वर्ष चार महिनाको रकम सरकारले जम्मा गरिदिएको थियो।
कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीति अनुसार सरकारले यस्तो व्यवस्था गरेको अर्थमन्त्री पौडेलले बजेट भाषणमा उल्लेख गरेका छन्।
यसै गरी आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको दायरालाई विस्तार गर्दै स्वरोजगार, करार र ज्यालादारीमा कार्यरत श्रमिकलाई पनि सहभागी गराउने बजेट मार्फत सरकारले घोषणा गरेको छ।
यस्तै विदेशबाट फर्केकाहरू तथा स्वदेशमा नै रोजगारी गुमाएकाहरूलाई विभिन्न स्वरोजगार मूलक कार्यमा संलग्न हुन सीप विकासका लागि ४० करोड रकम बजेटमा विनियोजन गरिएको छ। स्वदेशी उद्योगमा सीप सिक्न चाहनेहरूका लागि ३ महिनाको रकम सरकारले व्यहोरिदिने अर्थमन्त्री पौडेलले बताए।
औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकको सामूहिक दुर्घटना बिमालाई निःशुल्क बनाइने भएको छ। निर्माण क्षेत्रमा कार्यरत श्रमिकको अनिवार्य दुर्घटना बिमाको व्यवस्था गरिने बजेटमा व्यवस्था गरिएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १४ अर्ब विनियोजन गरेको छ।
जेठ १५, २०७८ शनिबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।