नेताको ज्यान जोगाउन चन्दा उठाउँदै जनता !

नेताको ज्यान जोगाउन चन्दा उठाउँदै जनता !

काठमाडौँ : जनता दिक्क हुन्छन् नेता बिरामी हुँदा। कारण कुनै ठुला नेता बिरामी परे भने राज्य कोषको दुरुपयोग पक्का झैँ छ नेपालमा। सम्पत्ति नै नभएको नेताका हकमा राज्य कोष उपयोग हुनु नाजायज हैन। तर करोडौँ सम्पत्ति जोडेका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सुजाता कोइरालासम्म कसैले छाडेन्न उपचारका लागि राज्य कोषको दोहन।

तर जनतालाई केन्द्रमा राखेर राजनीति गरे त्यस्ता नेताको ज्यान जोगाउन जनता आफैँ सक्रिय पनि हुन्छन्। त्यसका लागि चमत्कार गरिरहनु पर्दैन। ठुलो ओहदामा पुग्नु पर्दैन। चुनावै जित्नुपर्दैन। केवल जनताको मनमा आशा जगाइदिए पुग्छ। आम नागरिक त्यस्ता नेताको ज्यान जोगाउन आफ्नो गाँस कटाएर सहयोग गर्न तयार हुन्छन्।

विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापा कोरोना सङ्क्रमित भएर गम्भीर अवस्थामा छन्। उनी मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा सङ्घर्षरत छन्। यता बाहिर उनको ज्यान जोगाउन प्रार्थना गर्नेहरू त छँदै छन् उनको उपचार खर्च जुटाउन स्वस्फुर्त रूपमा नागरिकले नै चन्दा सङ्कलन गरिरहेका छन्।

विवेकशील साझाका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा राखेको जानकारी अनुसार उनको एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको छ मेडिसिटीमा। यो महँगो उपचार पद्धति हो। उनको परिवारले मात्र उपचार खर्च धान्न अप्ठ्यारो भएपछि विवेकशीलमा आबद्धहरूले नै चन्दा अभियान सुरु गरे।

गो फन्डमार्फत सुरु भएको अभियानमा २३ हजार अमेरिकी डलर सङ्कलन भइसकेको छ। ४ सय ७४ जनाले गो फन्डमार्फत थापाको उपचारमा सहयोग गरिसकेका छन्। बैङ्क खातामा २६ लाख जम्मा भइसकेको छ। दुबैतिर सङ्कलित रकम ५० लाख हाराहारी पुगेको छ। थापाको उपचारमा अपनाइएको पद्धति अलि खर्चिलो छ। दिनको ५ लाखसम्म खर्च निस्कन्छ।

अकुपाई बालुवाटार लगायतका सामाजिक अभियान हुँदै वैकल्पिक राजनीति प्रारम्भ गरेका थापा विवेकशील पार्टीका संस्थापक अध्यक्ष हुन्। उनले युवा समूहलाई जम्मा पारेर सामाजिक अभियानसँगै राजनीतिक अभियान समेत सुरु गरेका थिए।

उनी काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बने पनि विजयी भने भएनन्। विवेकशील र साझा पार्टी एकीकृत भएपछि उनी पनि त्यसको संयोजक बनेका थिए। विचार नमिलेर पुन विवेकशील साझाबाट अलग भयो। उनी विवेकशीलमै सक्रिय थिए।

नयाँ नेतृत्व छान्न २०७६ भदौमा भएको अधिवेशनमा उनले उम्मेदवारी नदिने घोषणा गरे। अधिवेशनबाट विवेकशीलको अध्यक्षमा पाण्डे निर्वाचित भएपछि पुन विवेकशील र साझा एकीकृत भएपछि उनी सक्रिय राजनीतिमा देखिएका थिएनन्। उनी सामाजिक सञ्जालमार्फत आफ्ना धारणाहरू सार्वजनिक गर्न भने सक्रिय थिए।

जेठ १५, २०७८ शनिबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।