देशका विभिन्न क्षेत्रमा बाढी पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
भारी वर्षा भई बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मौसमविद् मञ्जु बासीले आजदेखि शनिवारसम्म तीन दिन भारी वर्षा हुने र बाढी पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिन्।
सुरक्षाकर्मी र पालिकासँगको समन्वयमा नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दाले सतर्कता अपनाउनु पर्ने सुझाव मौसमविद् बासीले दिइन। उनले शनिवार बेलुकादेखि मौसममा सुधार आउने अनुमान गरिएको उनले बताइन।
यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा तथा उच्च वेगको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले केही दिनका लागी पर्वतारोहण नगर्नु र नगराउन विभागको अनुरोध छ।
विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जेठ १३, २०७८ बिहीबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।