कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल तोकिएको वीरको नयाँ सर्जिकल भवन साताभित्र सञ्चालन हुने
अस्पतालका नवनियुक्त प्रमुख प्रशासकीय अधिकारी प्रा. डा. जागेश्वर गौतमले कोरोना संक्रमित बिरामीको उपचारका लागि एक हप्ताभित्रै नयाँ सर्जिकल भवन सञ्चालन हुने बताएका हुन्।
अस्पताल संञ्चालनका लागि स्वास्थ्य सामग्री तथा उपकरणको व्यवस्थापन भइरहेको डा. गौतमले जानकारी दिए।
‘कति सामग्री आइपुगेका छन्। कति टेकुको स्टोरमा छन्। कति उड्दै होलान् प्लेनमा अहिले,’ डा. गौतमले भने, ‘सात दिनमा ल्याइन्छ ४/५ सय भेन्टिलेटर। ३ सय त जरुर आउने भो।’
वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले पनि सर्जिकल भवनको शय्या करिब तयार भएको जानकारी दिइन्। उनले भनिन्, ‘पहिलो तलामा हामीले करिव करिव शय्या तयार गरी नै सकेका छौं। दोस्रो तलामा पनि शैय्याचाहिँ छ।’
मनिटार लगायतको उपकरण आइरहेको उनले बताइन्। नयाँ सर्जिकल भवनका प्रत्येक तला ९३ बेडको भएको उनले बताइन्।
सर्जिकल भवनमा अक्सिजन, आइसियु लगायतको व्यवस्थापन तथा सेटअपको काम भइरको वीर अस्पतालले जानकारी दिएको छ।
वीर अस्पतालमा करिव ९ सय ५० बेड क्षमता रहेको डा. गौतमले बताए। कोरोना मात्रै नभई अन्य बिरामीको उपचारका लागि पनि शय्या छुट्याउनुपर्ने भएकाले कोभिडका लागि कति शय्या छुट्याउने भन्ने यकिन नभएको डा. गौतमले बताए।
उनले भने, ‘वीरको सबै क्षमता त ९ सय ५० हुन्छ। त्यसमा कोभिड कति चलाउने, नन् कोभिड पनि चलाउनुपर्यो नि।’
‘अस्पताल सञ्चालन गर्न जनशक्ति अभाव हुँदैन’
अस्पताल सञ्चालनका लागि जनशक्तिको अभाव नहुने प्रशासकीय अधिकारी डा. गौतम बताउँछन्। उनले भने, ‘ह्युमन रिसोर्सको अभाव छैन। ह्युमन रिसोर्स लिन्छौं नि, के अभाव हुन्छ? मार्केटमा जति पाइन्छन् मान्छे।’
युनिफाइड केन्द्रीय अस्पताल सञ्चालनका लागि के˗के काम भइरहेका छन् ? भन्ने जिज्ञासामा उनले भने, ‘म वीर अस्पतालमै छु अस्पताल सुरुवात गर्नलाई। पहिला त यसमा चाहिने इन्ग्रिडियन्स, विल्डिङले मात्रै त चल्दैन। अक्सिजनको व्यवस्थापन गर्नुपर्यो। अक्सिजनको पाइपिङलगायत हेर्नुपर्याे। त्यो कुरा हेर्दै छौं।’
केन्द्रपछि प्रदेशमा अस्पताल सञ्चालन गरिने
कोरोनाको उपचारका लागि युनिफाइड केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताल सञ्चालन भएपछि ७ वटा प्रदेशमा ७ वटा कोभिड युनिफाइड अस्पताल सुरु गर्ने डा. गौतमले जानकारी दिए। उनका अनुसार सातै प्रदेशमा शय्याको आवश्यकता अनुसार युनिफाइड अस्पतालको सुरुवात गरिनेछ।
प्रत्येक प्रदेशमा एउटा प्रदेश युनिफाइड अस्पताल रहने र त्यो अस्पतालले अन्य अस्पताललाई गाइड गर्ने डा. गौतमले बताए। प्रदेशमा युनिफाइड अस्पताल सञ्चालनका लागि समन्वय तथा छलफल भइरहेको उनकाे भनाइ छ।
‘प्रदेशमा पनि कम्युनिकेट त मैले गरिरहेको छु। कहाँ कहाँ प्रदेश युनिफाइड अस्पताल चलाउने हो भनेर कुराकानी भइरहेको छ,’ डा. गौतमले भने, ‘कतिपय ठाउँमा प्राइभेट संस्थालाई पनि लिनुपर्ने भएको छ। त्यसो भएर अहिले छलफलमै छ त्यो।’
डा. गौतमले कोरोना संक्रमितको उपचारका लागि युनिफाइड अस्पतालका रूपमा आवश्यकता अनुसार निजी अस्पताल पनि सरकारले लिएर चलाउन सक्ने बताए।
निजी अस्पताल पनि सरकारले लिएर चलाउनुपर्ने अवस्था छ ? भन्ने जिज्ञासामा डा. गौतमको जवाफ छ, ‘आइपर्याे भने। अब हेरौं न। कति ठाउँमा ठूला अस्पताल छैनन्। केही ठाउँमा ठूला सरकारी अस्पताल नभएकाले निजी अस्पताल पनि लिएर चलाउनुपर्ने हुनसक्ने उनले बताए।
तर, प्रदेशका कुनकुन अस्पतालमा कोभिड युनिफाइड अस्पताल चलाउने भन्ने कुरा भइरहेको बारे भने डा. गौतमले खुलाएनन्।
बाग्मतीका सम्भावित ३ अस्पताल
बाग्मती प्रदेशको हकमा नुवाकोटको त्रिशुली अस्पताल, हेटौंडा अस्पताल र भक्तपुर अस्पतालमध्ये कुनै एक अस्पताल प्रदेश युनिफाइड अस्पताल हुनसक्ने प्रदेशस्थित सामाजिक विकास मन्त्रालय अन्तर्गतका एक कर्मचारीले जानकारी दिए।
ती कर्मचारीले उकेरासँग भने, ‘सरसर्ती हेर्दा भक्तपुर, त्रिशुली वा हटौंडामध्येबाट नै उपयुक्त हुन्छ होला। हेटौंडाको आफ्नो अक्सिजन प्लान्ट छ।’
तर, कुन अस्पताललाई प्रदेश युनिफाइड अस्पताल बनाउने भन्नेबारे छलफल नभएको ती कर्मचारीले जानकारी बताए।
अस्पतालको सञ्चालनकाे प्रावधान
सरकारले हालै जारी गरेकाे कोभिड˗१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ६ मा कोभिड˗१९ युनिफाइड केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरेको छ।
दफा ६ को उपदफा १ मा संक्रमितको निदान र उपचारको काम एकीकृत रूपमा सञ्चालन र व्यवस्थापन गर्न वीर अस्पताल कोभिड˗१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा रहने व्यवस्था छ।
दफा २ मा केन्द्रीय अस्पतालको सञ्चालन स्वास्थ्य मन्त्रालयले गर्ने प्रावधान छ।
उपदफा ३ मा व्यवस्था भए अनुसार मन्त्रालयले केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको रूपमा निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी वा नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौं तहको अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाउन वा नियुक्त गर्न सक्नेछ।
यही प्रावधान अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तको जिम्मेवारी सम्हालेका डा. गौतम कोभिड˗१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीमा नियुक्ति भएर काम गर्न थालिसकेका छन्। उनी मन्त्रिस्तरीय निर्णयबाट नियुक्ति भएका हुन्।
दफा ६ को उपदफा ९ मा केन्द्रीय अस्पतालले सम्बन्धित प्रदेश सरकारसँग आवश्यक समन्वय गरी प्रदेशस्थित संघीय वा प्रादेशिक अस्पताललाई कोभिड˗१९ युनिफाइड प्रोदेशिक अस्पताल तोकी सञ्चालन गर्न वा गराउन सक्ने व्यवस्था छ।
केन्द्रीय अस्पतालले निर्धारण गरेबमोजिम नै कोभिड˗१९ युनिफाइड प्रादेशिक अस्पतालको काम, कर्तव्य र अधिकार तथा सञ्चालन कार्यविधि हुने व्यवस्था छ।
जेठ १२, २०७८ बुधबार २३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।