प्रधानमन्त्रीका निरंकुश र प्रतिगामी काम कारवाहीविरुद्ध एकता र सहकार्य गर्न नेपाल समूहको आग्रह
एमालेको नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले आज संयुक्त वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेको हो।
‘राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवं जनसमुदायमा प्रधानमन्त्री केपी शर्मा ओलीका निरंकुश र प्रतिगामी काम कारवाहीविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन हार्दिक आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएको छ।
वक्तव्यमा अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान कुल्चँदै गत फागुन २८ गते भेला गरी मनपरी किसिमले केन्द्रीय कमिटी भंग गर्ने, महाधिवेशनबाट निर्वाचित नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने र पार्टी सदस्य नभएकाहरूलाई जिम्मेवारी दिने अवैध निर्णय गरेकाे र यसलाई बदर गर्न वार्ता र पत्राचारमार्फत आग्रह गर्दा पनि नमानेको उल्लेख छ।
वक्तव्यमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गर्ने दुराशयका साथ नेपालको संविधानको धारा ७६ को उपधारा ४ र ५ मिच्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेमतो गरी आफैलाई प्रधानमन्त्री घोषित गरी फेरि प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक कार्य गरेकाे उल्लेख छ।
यसैगरी, नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि संविधान, लोकतन्त्र, पार्टी विधान र राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमान विपरीतका काम गरी नेपालको कम्युनिस्ट आन्दोलन र लोकतन्त्र क्षतविक्षत भइरहेको आरोप लगाएको छ।
वक्तव्यमा नेपालसहित झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल अमृतकुमार बोहरा र प्रमेश हमालको हस्ताक्षर छ।
जेठ १२, २०७८ बुधबार २०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।