कमेडीमा नेपालको विश्व कीर्तिमान : स्ट्याण्डप कमेडियन युकेजी र लेखमणिले बनाए रेकर्ड
काठमाडौं : नेपालमा कमेडी क्षेत्रमा नयाँ पहिचानको सुरुवात गरेको ‘नेपग्याजम कमेडी’ समूहले कमेडीमा विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएको छ।
आफ्नै शैलीमा कमेडीको लयलाई भित्र्याएर नेपाली युवापुस्तामाझ लोकप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले वैशाख २० (२०२१ मे ३)मा विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरेको थियो। सो समूहका दुई कलाकारले ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए।
‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति लिएर नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले कालापत्थरमा स्ट्याडअप कमेडी आयोजना गरेको प्रालिका निर्देशक सन्तोष देवकोटाले जानकारी दिए।
‘वर्ल्ड रेकर्ड कायम गरेको आधिकारिक घोषणा भएको छ। कोरोना महामारीका कारण प्रमाणपत्र पठाउन केही समय लाग्ने जानकारी आएको छ,’ निर्देशक देवकोटाले भने।
सो क्रममा विश्व कीर्तिमान राख्नका लागि समूहका संस्थापक कमेडी कलाकार उमेशकुमार गौतम (युकेजी) र लेखमणि त्रिताल (रमेश अंकलको छोरो)ले आफ्नो कमेडी कला प्रस्तुत गरेका थिए।
कार्यक्रमका लागि उनीहरूले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको ३० ३० मिनेटको दुई वटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरेको नेपग्याजमका संस्थापक निर्देशक सरद श्रेष्ठले जानकारी दिए।
यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २०१९ अप्रिल २५ मा सगरमाथा आधार शिविर ५ हजार २ सय ७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका थिए। नेपग्याजमको यो नयाँ रेकर्डसँगै पाउलोले कायम गरेको रेकर्ड तोडिएको छ।
विश्व कीर्तिमान कायम भएको सुनाउँदै कलाकार युकेजीले भने, ‘हामी उत्साहित भएका छौं। यो नेपालकै लागि गौरवको कुरा हो। नेपालले पनि कमेडीमा आफूलाई विश्वस्तरमा उचाल्दैछ भन्ने सन्देश यो कार्यक्रममार्फत गएको छ।’
अर्का कलाकार त्रितालले नेपाली हास्यव्यंग्यलाई अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा पुर्याउनलाई वर्ल्ड रेकर्डले झनै मद्दत पुग्ने बताए ।
कार्यक्रमका लागि कोरोना महामारीबीच आठ जनाको टोली कालापत्थर पुगेको नेपग्याजमले जनाएको छ। नेपालको कलाकौशल विश्वस्तरमा फैलाउनु नै आफ्नो समूहको चाहना भएको र यसले मनोबल थप बढाएको नेपग्याजमले भनेको छ।
सो कार्यक्रमका लागि कलाकारसहितको नेपग्याजम समूहलाई सिम्रिक एयरको हेलिकप्टरले कालापत्थर लगेको थियो । जमिनको सर्वाधिक उचाईमा स्ट्याण्डअप कमेडी शो गरी विश्व किर्तिमान कायम गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
जेठ १२, २०७८ बुधबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।