भारतले भन्यो– नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला
काठमाडौं : भारतीय विदेश मन्त्रालयले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला बताएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बुधबार ट्विटमार्फत सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको जवाफ दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रूपमा हेरेको बताएका छन्।
‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नोट गरेका छौं। यसलाई हामीले नेपालको आन्तरिक मामिलाका रूपमा हेरेका छौं,’ उनले ट्विटमा लेखेका छन्।
साथै उनले नेपालले पछिल्लो राजनीतिक समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्ने पनि विश्वास लिएको छ।
ट्विटमा एक छिमेकी मित्रको रुपमा भारत नेपालको शान्ति, स्थिरता र विकासको दिशामा नेपाल र त्यहाँका जनताको समर्थनमा अटल उल्लेख गरिएको छ।
जेठ १२, २०७८ बुधबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।