पुल सञ्चालनमा ल्याउन धादिङ नीलकण्ठका युवाले थाले अभियान 

पुल सञ्चालनमा ल्याउन धादिङ नीलकण्ठका युवाले थाले अभियान 

काठमाडौँ : नुवाकोट र धादिङ जिल्ला जोड्न बनेको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा ल्याउन धादिङ नीलकण्ठ ५ का युवाले अभियान सुरु गरेका छन्। उनीहरूले निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नआएपछि छिटो विवाद टुङ्ग्याउन दबाब दिन   ‘पुल सञ्चालन अभियान’ नै सुरुआत  गरेको बताएका छन्। 

सडक डिभिजन कार्यालय भरतपुरले धादिङ तर्फको फोस्रे टारका केही व्यक्तिका अनावश्यक अवरोध, असहयोग र विवादका कारण करिब १५ मिटरको एप्रोज सडकको ट्र्याक खुलाउन नसकिएको जनाएको छ।  

धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका –५ मा पर्ने त्रिशूली नदी पुल सञ्चालनमा फोस्रे टार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अवरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको कार्यालयले जानकारी दिएको हो। 

कार्यालयका इन्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ,नीलकण्ठ नगरपालिका र  गल्छी गाउँपालिकालाई एप्रोज सडकको ट्र्याक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिए। ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिएमा छिटो भन्दा छिटो  एप्रोज सडकको ट्र्याक खुलाइ पुल सञ्चालनमा आउने बताए। 

केउरिनी– फोस्रे टार–आँपचौर –सुनौला बजार –धादिङबेशी  सडकमा अवस्थित पुल निर्माण सम्पन्न गर्न सात वर्ष लागेको थियो। पुल निर्माणका लागि २०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एन्ड थोकर तथा नागार्जुन कन्स्ट्रक्सन जेभी कम्पनीका बिचमा ठेक्का सम्झौता भएको थियो।   नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बाटो खुलाउन प्रयास भइरहेको जानकारी दिए।

जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको समस्यालाई समाधान गर्न पहल भइरहेको उनले बताए। गल्छी गाउँपालिकाकाले सडक विभागको कमजोरीले गर्दा समस्या आए पनि बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

जेठ १२, २०७८ बुधबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।