काँग्रेसको निष्कर्ष : सरकार कोरोना नियन्त्रणमा गैर जिम्मेवार, जनअधिकार कुण्ठित गर्ने अभीष्ट

काँग्रेसको निष्कर्ष : सरकार कोरोना नियन्त्रणमा गैर जिम्मेवार, जनअधिकार कुण्ठित गर्ने अभीष्ट
फाइल तस्बिर

काठमाडौँ : नेपाली काँग्रेसले सरकार राजनीतिक अभीष्ट पुरा गर्न कोरोना सङ्क्रमण फैलाउने काममा लागेको आरोप लगाएको छ। काँग्रेसले सरकार राजनीतिक प्रयोजनमा उपयोग गर्न विभिन्न घोषणा गरिरहेको निष्कर्ष पनि निकालेको छ। 

जनअधिकार कुण्ठित हुने कुनै पनि घोषणा काँग्रेसले स्वीकार नगर्ने पार्टी पदाधिकारी बैठकको निष्कर्ष रहेको काँग्रेस सह महामन्त्री डा. प्रकाश शरण महतले बताए। डा. महतले अस्पतालमा बेड र अक्सिजन आपूर्तिको सुनिश्चितता नगरी सङ्कटकाल घोषणा गर्ने तयारी गर्नु सरकारको मनसाय सही नभएको बताए। 

‘सरकारको मनसाय कोरोना नियन्त्रण गरौँ भन्ने छैन,’ उनले भने,‘अहिले भिडभाड गर्न लगाउने र कोरोना फैलाएर सङ्कटकाल लाउने योजना हुनसक्छ, त्यसप्रति सबै सजग बन्नुपर्छ।’ 

पदाधिकारी बैठकले दुई दिन किनमेलका लागि पसल खुल्ला गर्न दिने सरकारको मनसाय ज्यादा राजनीतिक अभीष्ट पुरा गर्ने खालको भएको भन्दै आलोचना गरेको छ। कोरोना महामारीमा सरकार गैर जिम्मेवार भएर प्रस्तुत भएको भन्दै बैठकमा आलोचना भएको सह महामन्त्री महतले जानकारी दिए। 

‘किनमेलका लागि दुई दिन खाद्यान्नको बजार खुल्ला गरेर सरकारले भिडभाड बढाएको छ,’महतले उकेरासँग भने,‘कोरोना नियन्त्रण होइन, सङ्क्रमण फैलाउने हिसाबले काम भइरहेको छ।’ 

पदाधिकारी बैठकमा प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइका विषयमा छलफल भएको महतले बताए। पदाधिकारी बैठकले महाधिवेशनबारे भने कुनै निर्णय गरेन। काँग्रेसलाई पार्टीको १४ औँ महाधिवेशन भदौमा गर्नै पर्ने संवैधानिक बाध्यता छ। 

जेठ १२, २०७८ बुधबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।