२५६५ औँ बुद्ध जयन्तीमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको बताएकी छन्। उनले बुद्ध जयन्तीलाई राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरेकी छन्।
२५६५ औँ बुद्ध जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले शान्ति दूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसाथ गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरेकी छन्।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गौतम बुद्धको २५६५ औँ जन्म जयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डी पूर्णिमाका अवसरमा आज सन्देश दिँदै कोरोना परीक्षणलाई तीव्र बनाउन र सङ्क्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरेका छन्।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय मुलुकका पाठ्यक्रममा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री ओलीले २५६५ औँ बुद्ध जयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा सन्देश दिँदै आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरू नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरू पढाउनु वाञ्छनीय नहुने उल्लेख गरेका छन्। सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउन प्रधानमन्त्री ओलीले सबैको ध्यानाकर्षण गराएका छन्।
जेठ १२, २०७८ बुधबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।