जसपा अध्यक्ष ठाकुरले सोधे अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण
काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग स्पष्टीकरण माग गरेका छन्। ठाकुरले पार्टीको मूल्यमान्यता, नीति तथा विधान विपरीत गतिविधि गरेको भन्दै यादवसँग स्पष्टीकरण माग गरेका हुन्।
उनले पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधिएको विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
ठाकुरले सोधेका ७ प्रश्नको उत्तर यादवले तीन दिनभित्र दिनुपर्ने भनिएको छ।
अध्यक्ष ठाकुरले संसदीय दलद्वारा गरिएको निर्णय विपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा किन र कुन कारणले हस्ताक्षर गरेको भन्दै यादवसँग स्पष्टीकरण सोधका छन्।
उनले यादवलाई सर्वोच्च अदालतमा पार्टीको निर्णय विपरीत विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनेर प्रस्टीकरण माग गरेका छन्। उनले पार्टी एकता भए देखि नै समायोजनमा रुचि नलिई विभिन्न जिल्लाहरूमा पार्टी एकता विरोधी गुटगत रूपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरू किन सञ्चालन गरेको भनेर यादवलाई सोधेका छन्। उनले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई निष्कासन गरेको विषयमा पनि स्पष्टीकरण मागेका छन्।
जेठ १२, २०७८ बुधबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।