राष्ट्रपति र प्रधानमन्त्रीको तानाशाहविरुद्ध जनआन्दोलन सिर्जना गर्न बृहत् नागरिक आन्दोलनको आह्वान

राष्ट्रपति र प्रधानमन्त्रीको तानाशाहविरुद्ध जनआन्दोलन सिर्जना गर्न बृहत् नागरिक आन्दोलनको आह्वान

नागरिक आन्दोलनले आज (शनिबार) प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको तानाशाह र कुनै पनि तानाशाह प्रवृत्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक दल, अधिकारकर्मी, पेशाकर्मी एवं सचेत नागरिकलाई आन्दोलनका लागि आह्वान गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतान्त्रिक संस्था र मूल्य मायन्ताको हुर्मत लिएको र उनको प्रत्येक अलोकतान्त्रिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएको विज्ञप्तिमा उल्लेख छ। 

नागरिक आन्दोलनले पछिल्लो पटकको संसद् विघटन प्रधानमन्त्री र राष्ट्रपतिको प्रपण्चमा गरिएको आरोप लगाउँदै यो कदम संविधान र लोकतन्त्र नै समाप्त पार्ने ठहर गरेको छ।

‘हिजो करिब दुई तिहाईको निर्वाचित सरकारको नेतृत्व गर्दासमेत प्रधानमन्त्री ओलीले सदैव निर्वाचित संस्था, लोकतान्त्रिक राज्य संयन्त्र र संविधानको अवहेलना गरिरहे। महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेका बेला उनले मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध हो,’ विज्ञप्तिमा उल्लेख छ।

जेठ ८, २०७८ शनिबार २०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।