प्रतिनिधिसभा विघटन सर्वाेच्चको फैसलाविपरीत : सापकोटा
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाले आज (शनिबार) वक्तव्य जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वाेच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ,’ वक्तव्यमा भनिएको छ, ‘अदालतको उक्त फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैले इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन’ उल्लेख भएको यहाँ विशेष स्मरणीय छ।’
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिनु स्वाभाविक र संवैधानिक कदम नरहेको वक्तव्यमा उल्लेख छ।
राष्ट्रपतिको यो कदम शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत रहेको वक्तव्यमा लेखिएको छ।
जेठ ८, २०७८ शनिबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।