संसद् विघटनबारे देउवाको प्रतिक्रिया : राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्ति जसरी प्रयोग गरे

संसद् विघटनबारे देउवाको प्रतिक्रिया : राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्ति जसरी प्रयोग गरे

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति संसद् विघटन गरी चुनाव घोषणा गरेपछि उनले आज (शनिबार) वक्तव्य जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। वक्तव्यमा सभापति देउवाले विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपछि निरन्तररुपमा लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्दतिको खिल्ली उडाएको उल्लेख गरिएको छ। 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा ३० दिन भित्र विश्वासको मत लिन नसक्ने नसक्ने घोषणा गरेको अवस्थामा राष्ट्रपतिले अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गर्दा आफूले स्पष्ट बहुमत सहित १ सय ४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेको वक्तव्यमा उल्लेख गरिएको छ।  

‘नेपालको संविधानबमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एक पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसद्मा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्,’ वक्तव्यमा भनिएको छ, ‘नेपालको संविधानको अक्षर र भावना अनुसार ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैह्रसंवैधानिक दाबीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन, अनैतिक पनि हो।’

राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको वक्तव्यमा उल्लेख छ।

‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिस गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधानबमोजिम नियुक्त गर्नुपर्नेमा प्रतिनिधिसभाका सदस्यलाई नियुक्त गर्नुपर्ने र दाबी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्,’ वक्तव्यमा भनिएको छ, ‘यी काम राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधिसभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ। राष्ट्रपति र प्रधानमन्त्री षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत छन् भन्ने नेपाली कांग्रेस ठहर गर्दछ।’

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन समेत आग्रह गरेका छन्। उनले यसविरुद्ध कांग्रेसले राजनीतिक र न्यायिक लडाइँ लड्ने उल्लेख गरेका छन्।

जेठ ८, २०७८ शनिबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।