'नेपाल पक्ष'का सांसदलाई एमाले सचेतकको फोन : तपाईँले हस्ताक्षर गरेको हो?
सुनसरी क्षेत्र नं १ का नेकपाका सांसद जय कुमार राईका अनुसार मुख्य सचेतक विशाल भट्टराईले सांसदहरूलाई फोन गरेर पार्टी विरुद्ध हस्ताक्षर किन गरेको भन्दै फोन गरेका छन्। उनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै विज्ञप्ति निकालेका छन्। सांसद राईले भने‘मेरो समर्थन देउवालाई छैन। मेरो हस्ताक्षर दुरुपयोग भयो।’ तर राष्ट्रपति कार्यालयमा बुझाएको सूचीमा उनको नाम नभएको स्रोतले बतायो।
हस्ताक्षर गर्ने कसैको नाम सार्वजनिक नभएको अवस्थामा तपाईँले कसरी थाहा पाउनुभयो भन्ने जिज्ञासामा उनले भने‘हाम्रो सचेतकले फोन गरेर तपाइको पनि हस्ताक्षर रहेछ भनेपछि जानकारी पाए।
उनले अहिले बुझाएको हस्ताक्षर संसद्को अधिवेशन आह्वानका लागि गरिएको दाबी समेत गरे।
‘म पार्टी एकताको पक्षमा हो। कुनै नेताको पक्षमा होइन। अहिले कोरोनाको महामारी छ। यो बेला दल फुटाएर कुर्सीको लडाई लड्ने बेला हो? उनले प्रश्न गरे,‘अहिले हाम्रो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ। उहाँलाई बर्खास्त गरेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा सही गर्न सक्छु होला त ? त्यो पनि पार्टी एकताको पक्षमा रहेको मान्छे?’
प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्दै एक सय ४९ जनाको हस्ताक्षर बुझाएको थियो। देउवालाई काँग्रेस, माओवादी केन्द्रसँगै माधव नेपाल पक्षको २६, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाको एक जना सांसदको हस्ताक्षर छ।
जेठ ७, २०७८ शुक्रबार १९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।