पूर्व न्यायाधीश बलराम केसी भन्छन् : प्रधानमन्त्रीले राष्ट्रपतिको बेइज्जत गरे 

पूर्व न्यायाधीश बलराम केसी भन्छन् : प्रधानमन्त्रीले राष्ट्रपतिको बेइज्जत गरे 

‘प्रधानमन्त्रीले म अब सक्दिन भनेर नयाँ सरकार गठन गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि फेरि नयाँ सरकार गठन गर्न गरेको दाबी कसरी स्वीकार गर्न सकिन्छ,’ उकेरासँग कुरा गर्दै उनले भने‘ यस्तोमा त राष्ट्रपतिले तपाईँले सरकार चलाउन सक्दिन भनेकाले नयाँ सरकार आव्हान गरेको हुँ तपाईँले अब सरकार बनाउने दाबी गर्न मिल्दैन भनेर फिर्ता गर्नु पर्ने पो हो।’

उनले अहिले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले जे गरिरहेका छन् त्यसले अन्तर्राष्ट्रिय क्षेत्रलाई नै हँसाउने काम गरेको प्रतिक्रिया दिए।

अन्य दलले नयाँ सरकार बनाउन दाबी गरेको अवस्थामा राष्ट्रपतिले सरकार चलाउन सकिन, विश्वासको मत लिन सकिन भन्नेकै दाबी स्वीकार गर्नु जग साइँको काम मात्रै भएको उनको मत छ।

‘राष्ट्रपति पदलाई अमर्यादित बनाउने काम प्रधानमन्त्रीले गरे। तपाइको उम्मेदवार स्वीकार गर्दिन। फिर्ता लैजानुस् भन्नुपर्छ,’ उनले भने‘ राष्ट्रपतिले पनि आफ्नो पदलाई अति अमर्यादित बनाउनु भयो। अन्तर्राष्ट्रिय जनतमै हाँसो भइराखेको छ।’

उनले अवकाश पाउँदै गरेका प्रधानमन्त्रीसँग राष्ट्रपतिले सल्लाह समेत गर्नु नपर्ने बताए। राष्ट्रपतिले स्वविवेक प्रयोग गर्ने समय नै यस्तै बेला भएको बताए।  

‘राष्ट्रपति रोबोट बन्नुभएन। उहाँले दिमाग लगाउनु पर्यो। प्रधानमन्त्रीलाई मान्यता दिनु हुँदैन,’ उनले भने‘ प्रधानमन्त्रीले राष्ट्रपति पद र राष्ट्रपति भवनको अपमान गर्नुभयो।’

विश्वासको मत लिन सकिन भनेर नयाँ सरकार गठनको सिफारिस गरेका प्रधानमन्त्रीको दाबी स्वीकार गरेको अवस्थामा कुनै विवाद भए राष्ट्रपतिले विवादको समाधान सांसदबाट गर्नुपर्ने उनको सुझाव छ।

राष्ट्रपतिले अब प्रधानमन्त्रीलाई संसद् बोलाउनुस् त्यतै फ्लोर टेस्ट गराउँछु भन्नुपर्ने पूर्व न्यायाधीश केसीले बताए।

‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई अब संसद् बोलाउनुस् भन्नुपर्छ। अधिवेशन बोलाउनुपर्छ। फ्लोर टेस्ट गराएर जसले बहुमत ल्याउँछ उसलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ,’ उनले उकेरासँग भने।

जेठ ७, २०७८ शुक्रबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।