शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका लागि आफ्नो दाबी प्रस्तुत गर्न शुक्रबार दिउँसो शीतल निवास पुगेका ओली केही बेरअघि बाहिरिएका हुन्।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पार्टीका १ सय २१ र जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्।
‘ठ्याक्कै संख्यामा यति भन्ने त मलाइ जानकारी भएन। तर, बहुमत पुग्ने गरी एमालेका १ सय २१ र जसपाका केही सांसदको हस्ताक्षरसहित उहाँले (प्रधानमन्त्री ओलीले) प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ,’ उनले उकेरासँग भने।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्। एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता विष्णु रिजालका अनुसार देउवाले १ सय ४९ सांसद्को हस्ताक्षर गरेर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन्।
देउवालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल-नेपाल पक्ष र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका सांसद्ले समर्थन गरेका छन्।
जेठ ७, २०७८ शुक्रबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।