'विश्वासको मत नदिएर चुनावमा जाँदा संसद् विघटन गर्यो भनेर नभन्नु' : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार नेपालको संविधानको धारा ७६ को उपदफा ५ अनुसार संसद्को सदस्य रहेकालाई बहुमतसहित नयाँ सरकारमा दाबी गर्न आउन आव्हान गरेकी छिन्।
वैकल्पिक सरकार गठनको आव्हान अगाडि किन राजीनामा नदिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने' उपधारा पाँचमा जान राजीनामा दिनै पर्छ भनेर संविधानमा कहाँ लेखेको छ? हलो अड्काउने गोरु पड्काउने किन?'
उनले अर्को प्रधानमन्त्री नबनेसम्म आफूले नै प्रधानमन्त्रीको रूपमा काम गर्ने जवाफ दिँदै उनले भने' म सरकार चलाउन दिक्क भइसके। मलाई सरकार चलाउन मनै छैन भने म किन विश्वासको मत लिनु जाऊँ।'
उनले पटक-पटक आफूलाई सरकार चलाउन मन नलागेकाले राष्ट्रपतिलाई सिफारिस गरेको बताउँदै भने' न कोही समर्थन गर्छ, न कोहीले साथ दिन्छ। बदनाम गरेको छ। चरित्र हत्या गरेको छ। यस्तोमा पनि कसैले सरकार चलाउन सक्छ?'
उनले संविधानको धारा ७६ को ५ अनुसार सरकार बनाउन दाबी गर्न आफूले दाबी गर्ने प्रयास गरिरहेको बताउँदै उनले भने' बाहिर जसले जे भने पनि अहिले मसँग एक सय २१ मत भार छ। यसको आधारमा म सरकार बनाउने प्रयास गर्नेछु। सरकार बनेमा एक महिनामा विश्वासको मत लिने प्रयास गर्नेछु। त्यो बेला विश्वासको मत नदिएर चुनावमा जाँदा संसद् विघटन गर्यो भनेर नभन्नु।'
जेठ ७, २०७८ शुक्रबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।