प्रधानमन्त्रीले गुमाए विश्वासको मत, पक्षमा ९३ र विपक्षमा १२४ मत
विश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा आवश्यक १३६ मत ल्याउन ओली नेतृत्वको सरकार असफल भएको हो।
विश्वासको मत लिने प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ। १५ सांसद पक्ष र विपक्ष मत नदिई तटस्थ बसेका छन्। जनता समाजवादी पार्टी महन्थ ठाकुरले आफूहरू तटस्थ बस्ने बताएका थिए। बैठकमा २३२ जना उपस्थित थिए।
सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। उनले संसद्को अर्को बैठक वैशाख ३० गते बस्ने गरी स्थगित भएको बैठकलाई जानकारी गराए।
ओलीले सत्तारुढ नेकपा एमालेका १२१ सांसद सबैको मत पाएनन्। एमालेको माधवकुमार नेपाल पक्षका सांसद आजको संसद् बैठकमा उपस्थिति भएनन्।
२०७५ साल फागुन ३ गते गठन भएको ओली नेतृत्वको सरकार संसदबाट विश्वासको मत गुमाएसँगै अल्पमतमा परेको छ। ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए। विघटनको निर्णय सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेपछि प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो।
वैशाख २७, २०७८ सोमबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।