संसद्मा जवाफ दिँदै ओलीले भने: मुद्दा लडेर फिर्ता ल्याएको संसद् बचाउने हो भने पक्षमा भोट दिऊँ

संसद्मा जवाफ दिँदै ओलीले भने: मुद्दा लडेर फिर्ता ल्याएको संसद् बचाउने हो भने पक्षमा भोट दिऊँ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतकाले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने' संविधानको मर्म अनुसार पाँच वर्ष चलाउन् भन्नुभयो। त्यही मर्म अनुसार विश्वासको मत मागेको छु। पाँचै वर्ष चलाउन्। मत दिनुस्। मिलेर काम गरौँ। मत दिनुस् न संसद् कसरी विघटन हुन्छ?, डिलमा गएर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने?'

उनले भने' केही साथीले यो सदनले विश्वास दिँदैन भने। त्यसो त लाग्दैन। तै पनि सुन्दा हो कि जस्तो लाग्यो। देशको आवश्यकता र संसदीय गणित फरक हुन्छ।'

उनले निर्वाचनले लोकतन्त्र खतरामा पर्दैन भन्दै ढिलै भए पनि अबको डेढ वर्षमा चुनाव हुने बताए। उनले प्रश्न गरे' त्यो बेलामा संसद्को हत्या हुन्छ त?'

उनले भने' विघटनको षड्यन्त्र त हैन भन्ने शङ्का गरे। गर्ल्यामगुर्लुम भोट हाल्दिउन्। हेरौँ कसले गर्ने रहेछ विघटन।'

दाहाललाई जवाफ : इमानको छातीमा हात राख्नुस्

'एक जना मित्रले लोकतान्त्रिक प्रणालीको जोडदार चिन्ता गर्नुभयो' भन्दै ओलीले प्रचण्डलाई जवाफ दिँदै भने' १०-१५ वर्ष अगाडि लडाइका मैदानमा हुनुहुन्थ्यो। अहिले लोकतन्त्रको कुरा गर्दा खुसी लाग्यो।

उनले संविधान सुरक्षित रहने र संविधान नमिचिने दाबी गरे।

सरकारको स्थायित्व कोबारे प्रचण्डले राखेको टिप्पणीप्रति प्रति टिप्पणी राख्दै उनले भने' ठिक छ त, सरकार पाँच वर्ष चलाउन्। त्यही भएर त विश्वासको मत माग्न आएको। मत दिनुस्।'

उनले हाड र छालाको छातीमा मात्रै हैन इमानको छातीमा हात राखेर कसले सरकारलाई काम गर्न अवरोध गरेको हो सोच्न आग्रह गरे।

'अवरोध गरेको छ विकल्प दिएको हैन। त्यही इनफ इज इनफ भनेर विश्वासको मत लिन आएको हो।'

सरकारलाई समर्थ नदिएको भन्ने दाहालको भनाइको उत्तर दिँदै उनले सोधे' समर्थन नदिएको हो भने चार दिन अगाडि के फिर्ता लगेको?'

देउवालाई जवाफ: धरहरा नबनेको भए म कसरी चढेँ

आफ्नो भनाइको क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले कामै नसकिई धरहराको उद्घाटन गरेको भन्दै आलोचना गरेका थिए। त्यसको प्रतिउत्तर दिँदै उनले भने' त्यो नबनेको भए कसरी टुप्पोमा पुगे। म लिफ्ट चढेरै गएको हुँ। पुष्प गुच्छा गरेकै हुँ।'

उप-सभामुखको निर्वाचन नगरी पद रिक्त राख्नुको कारण विपक्षी दलका नेताहरू नै रहेको ओलीले दाबी गरे। एकै दलको उप सभामुख नहुने अन्य दलका नेतालाई आग्रह गर्दा फसाउन आँट्यो भनेर नमान्ने

उपेन्द्र यादवलाई जवाफ

'केही आँप झरेर रुख खाली हुँदैन भनेकोलाई एक दुई जना सहिद भएर केही हुँदैन भन्यो भनेर हल्ला मच्चाइयो' भन्दै उनले तराइमा शान्तिपूर्ण रूपमा पनि सभा गर्न नपाइने बनाएको बताए।

उनले भने'बसोबासको आधारमा कोही ठेकेदार हुन सक्दैन। देश सबैको साँझ हो। कोही पहाडको ठेकेदार, कोही मधेसको ठेकेदार, कोही पूर्वको ठेकेदार हुन सक्दैन।'

उनले आवश्यक छ भने संविधान संशोधन गर्न सरकार तयार रहेको बताए।

खोपमा व्यापारीको कमिसनबारे मलाई जानकारी छैन

ओलीले नआएको खोपमा व्यापारीको कमिसनबारे जानकारी नभएको र यसबारे कसैलाई जानकारी भए जानकारी गराउन आग्रह गर्दै भने 'म कारबाही गर्छु।'

कम्पनीसँग सिधा डिल गरेर खोप खरिद गरेको यसमा भ्रष्टाचार नभएको तर कसैलाई भ्रष्टाचार छ भन्ने लाग्छ भने छानबिन गर्न तयार रहेको उनले बताए।

वैशाख २७, २०७८ सोमबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।