देउवा र प्रचण्डको माग : नयाँ सरकार दुईभन्दा बढी दलको नेतृत्वमा
सरकारमाथिको विश्वासको मतबारे आफ्नो धारणा राख्दै दुवै दलका नेताले आफ्नो दल विपक्षमा रहेको र प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्ने भन्दै विश्वासको मत टुङ्गिएपछि संविधानको धारा ७६ को उपधारा २ को १ अनुसार सरकार गठन गर्न माग गरे।
नेपालको संविधानको धारा ७६ को (२) उपधारा (१) मा 'प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने' उल्लेख छ।
विश्वासको मत विशेष अधिवेशनबाट टुङ्गिएपछि ओली धारा ७६ को उपधारा ३ अनुसार पुन प्रधानमन्त्री बन्ने हो कि भन्ने आशङ्का दुवै दलका नेतामा देखियो।
उपधारा ३ मा प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्त हुने संवैधानिक प्रावधान छ।
उपधारा ३ अनुसार प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा मात्र राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने सक्ने उल्लेख छ।
काँग्रेस र माओवादी केन्द्र मात्र मिलेर सरकार बनाउन आवश्यक बहुमत पुग्दैन। यसका लागि जनता समाजवादी पार्टीको समर्थन आवश्यक छ। तर जसपामा बढेको विवादका कारण जसपाले नयाँ सरकार गठनमा सहजै पूर्ण समर्थन गर्ने सम्भावना देखिन्न।
जसपाले समर्थन नगरेको अवस्थामा नयाँ सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जाने सम्भावना बढी छ।
वैशाख २७, २०७८ सोमबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।