अन्य दलका सांसदलाई फ्लोर क्रस गर्न उक्साउँदै प्रधानमन्त्रीले भने- आबद्धता हैन, सत्यलाई पछ्याऊँ'

अन्य दलका सांसदलाई फ्लोर क्रस गर्न उक्साउँदै प्रधानमन्त्रीले भने- आबद्धता हैन, सत्यलाई पछ्याऊँ'

काठमाडौँ : प्रतिनिधि सभाको विशेष अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले को कहाँ आबद्ध र संलग्न छु भन्ने भन्दा पनि सत्य के हो त्यो हेरेर  निर्णय गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

उनले संसद्को विशेष अधिवेशनमा सम्बोधन गर्दै 'संसद्को ममाथि विश्वास छ भनेर पुष्टि गर्न  आवश्यक लागेकाले संसद्मा उपस्थित भएको' बताए।

प्रधानमन्त्रीको विश्वासको मतविरुद्धमा मत दिने नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णयपछि उनले विश्वासको मत पाउने सम्भावना कम छ।

यस्तो बेलामा उनले अन्य दलका सांसदहरूलाई फ्लोर क्रसमा उक्साउँदै आबद्धताका आधारमा नभई सत्यलाई पच्छ्याएर विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

'हामी सार्वभौम जनताको भावनाको प्रतिनिधित्व गर्ने हौँ। आफ्नो स्वार्थबाट निर्देशित भएर हैन म कहाँ आबद्ध छु भनेर हैन सत्यलाई पच्छ्याएर निर्णय गर्नुपर्ने अवस्था,' उनले संसद्मा भने' सत्यलाई पच्छ्याउने हो भने वर्तमान सरकार कुनै हिसाबले विश्वास गर्न नपर्ने सरकार हैन।'

उनले राष्ट्रियताको सवालमा, अन्तर्राष्ट्रिय मञ्चमा सरकारको उपस्थितिका आधारमा सरकार बलियो रहेको दाबी गर्दै भने ' नेपाल अन्तर्राष्ट्रिय मञ्चमा सुनिन र देखिन थालेको छ। हाम्रा काम आफैँ बोल्छन्। त्यसैले विश्वास नगर्नुपर्ने कुनै कारणै छैन।' 

 

वैशाख २७, २०७८ सोमबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।