माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने

माओवादी केन्द्रले  प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। माओवादीले अविश्वासको प्रस्ताव तयार गरेर सांसदहरूलाई वितरण गरेको भनिए पनि मुख्य सचेतक गुरुङले यसको पुष्टि भने गरेनन्।

सिंहदरबारमा आज सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावबारे छलफल भए पनि निर्णय भने नभएको गुरुङले जानकारी दिए। ‘आज विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्छौ,’ गुरुङले भने ‘अविश्वासको प्रस्तावमा निर्णय गर्न फेरी बैठक बस्नुपर्छ। 

ओलीविरुद्ध अविश्वासको प्रस्ताव तत्काल दर्ता भने नहुने भएको छ। कांग्रेसलगायत अन्य दलसँग छलफल गरेर थप निर्णय लिइने माओवादीले तयारी गरेको छ। अविश्वासको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिएको स्रोतले बताएको छ। 

बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको छ। यस्तै संसद्को विशेष अधिवेशन र विश्वासको मत लिने कुरा गलत मनसायले आएको ठहर गरेको माओवादी केन्द्रका मुख्य सचेतक गुरुङले जानकारी दिए। मुलुकमा अस्थिरता पैदा गर्ने र अध्यादेशमार्फत मुलुक चलाउने प्रधानमन्त्रीको कदम गलत भएको निष्कर्ष समेत बैठकले निकालेको उनले बताए। 

त्यस्तै मध्यावधि निर्वाचनमा जान संसद् भङ्ग गर्ने उद्देश्यले प्रधानमन्त्रीले विश्वासको मत माग्न लागेको हुनसक्ने गुरुङले बताए। 

त्यस्तै बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि सरकार असफल भएको निष्कर्ष निकाल्दै नागरिकको जीवन रक्षाका लागि गम्भीर भएर लाग्न ध्यानाकर्षण गराएको गुरुङले बताए। 

वैशाख २७, २०७८ सोमबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।