माधव समूहले एमाले फुटाए बामदेवले साथ दिने

माधव समूहले एमाले फुटाए बामदेवले साथ दिने

काठमाडौँ : एमालेका नेता बामदेव गौतमले एमाले विभाजित भएको अवस्थामा माधव नेपाल समूहलाई साथ दिने भएका छन्।

उनले अहिलेको राजनीतिक उतारचढावबारे आफ्ना २ बुँदे धारणा सार्वजनिक गर्दै अहिलेको अवस्थामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पक्षमा नभएको  र पार्टी विभाजन भए माधव नेपाल समूहलाई साथ दिने बताएका हुन्।

गौतमको धारणा उनको प्रेस सहयोगी विश्वमणि सुवेदीले सार्वजनिक गरेका हुन्।

नेकपामा विवाद सुरु भएदेखि नै गौतम कुनै समूहमा नलागी पार्टी एकता राष्ट्रिय अभियानमा लागेका थिए। एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएपछि पनि उनी ओली या नेपाल कतै खुलेका छैनन्।

उनले एमाले जेठ २ को अवस्थामा नफर्किए प्रधानमन्त्री ओलीलाई साथ दिन नसक्ने र माधव समूहले एमालेमै बसेर समानान्तर गतिविधि गरे त्यसमा पनि आफ्नो सहमति नहुने उल्लेख गर्दै पार्टीमा ४० प्रतिशत पूर्याएर या अर्को विकल्पबाट नयाँ पार्टी गठन भए आफू त्यसमा सहभागी हुने उल्लेख छ।

सुवेदीले सार्वजनिक गरेको गौतमको २ बुँदे धारणा :

१. अध्यक्ष ओलीसँगको कुराकानीबारे

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

यसको प्रतिउत्तरमा उपाध्यक्ष  गौतमले ‘त्यसो भए म तपाईँको साथमा छैन’ भन्नुभएको हो ।

२. माधव नेपालहरूका सन्दर्भमा

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरूले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

वैशाख २७, २०७८ सोमबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।