घनश्याम र योगेश नमानेपछि माधव समूहले सामूहिक राजीनामाको निर्णय गर्न सकेन
काठमाडौँ : आइतबार बेलुका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे सर्त सहितको पत्र पठाएर सो सर्त स्वीकार नगरे आफ्ना पक्षका सांसदहरूले सामूहिक राजीनामा समेत दिन सक्ने चेतावनी दिएको एमालेको माधव नेपाल समूह अन्त्यमा राजीनामाको अजेण्डाबाट पछि हटेको छ।
आफ्नो समूहका सांसदहरूको बैठक राखेर नेपाल समूहले अन्तमा राजीनामा नदिने बरु विश्वासको मतका लागि बस्ने संसद्मा उपस्थित नहुने निर्णय गर्यो।
सामूहिक राजीनामाबारे नेपाल समूहको सांसदहरूबिच अन्तिम समयमा सहमति हुन नसकेपछि राजीनामा आउन सकेन। पछिल्लो समय योगेश भट्टराई, घनश्याम भुषााल लगायतका केही सांसद नेपाल समूहको सामुहिक राजिनामाको विपक्षमा देखिएको थियो। उनीहरु पछिल्लो समय ओली निकट नेताहरुसँग निरन्तर संवादमा थिए।
सोमबार बसेको नेपालपक्षका सांसदहरुको बैठकमा समेत योगेश र घनश्याम सामुहिक राजिनामाको पक्षमा नआएपछि मध्यमार्गी बाटोलिँदै अनुपस्थित हुने निर्णय गरेर बैठक सक्काए।
उता एमाले संसदीय दलबाट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी भइसकेको छ। बैठकमा जानजान अनुपस्थितहुँदा ह्विप उलंघनको आरोपमा कारबाही हुनसक्छ।
ओलीको आग्रह : हतारोमा निर्णय नगरौ
नेपाल पक्षले बैठकमा अनुपस्थित हुने निर्णयसँगै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत अनुचित निर्णय नगर्न आग्रह गर्दै वार्तामा बस्न आव्हान गरेका थिए।
उनले लेखेका छन् :
नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।
यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।
वैशाख २७, २०७८ सोमबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।