संसद्को विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय भएको छ।
यस्तै सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान भएको बैठकमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोल्न समय दिने तयारी सचिवालयले गरेको छ। विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमा आजै मतदान हुने सचिवालयले जनाएको छ।
कोरोना सङ्क्रमित सांसदहरू भने बैठक कक्षमा प्रवेश गर्न पाउने छैनन्। तर, उनीलाई मतदान गर्न पाउने गरी विशेष व्यवस्था भने गरिएको सचिवालयले जनाएको छ।
प्रतिनिधिसभामा २६७ सदस्य छन्। गणना भने २७१ सदस्यकै हुनेछ। त्यसैले प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ मत चाहिन्छ। सत्तारुढ नेकपा एमालेका १२१ सांसद छन्।
विपक्षी नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टीका ३२ सांसद छन्। राप्रपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाका एक एक जना सांसद छन्। नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका २–२ जना सांसद निलम्बित छन्। निलम्बित सांसदले मतदान गर्न पाउँदैनन्।
वैशाख २७, २०७८ सोमबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।