कोरोना संक्रमणबाट १८ जना उद्यमीको मृत्यु
महासङ्घको विभिन्न तहमा रहेका सदस्य उद्यमीहरू मध्ये ताप्लेजुङमा २ जना, काभ्रेमा १ जना कैलालीमा २ जना पर्सामा १ जना सुर्खेतमा २ जना बाँकेमा ५ जना, दाङमा २ जना, सल्यानमा १ जना, मकवानपुरमा १ जना, सङ्खुवासभामा १ जनाले कोरोनाका कारण मृत्यु भएको हो।
११९ जना लघु, घरेलु तथा साना उद्यमीहरू कोरोना सङ्क्रमित भएका महासङ्घका अध्यक्ष श्याम गिरीले जानकारी दिए। महासङ्घले यो अवस्थामा स्वास्थ्य सुरक्षाका लागि सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफ्ना उद्यम व्यवसाय सञ्चालन गर्न भनेको छ। उसले स्थानीय र देशकै आपूर्ति व्यवस्थालाई सुचारु गर्न र गराउन आव्हान पनि गरेको छ।
महासङ्घले सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन अनुरोध गरेको छ। सामाजिक उत्तरदायित्व र कर्तव्यलाई समेत बिर्सेर केही बैङ्कहरूले उद्योग व्यवसाय कर्जामा अत्यधिक ब्याज लगाइ उद्यमी व्यवसायीलाई मर्माहत पारेको गुनासो महासङ्घले गरेको छ।
महासङ्घले ट्रेड युनियन, रोजगारदाता र सरकारको बिचमा छलफल चलिरहेको बेला सरकारले एक पक्षीय रूपमा कामदारको न्यूनतम पारिश्रमिक तोकी लागु गर्ने मिति समेत राजपत्रमा उल्लेख गर्नु दुःखद भएको बताएको छ। न्यूनतम पारिश्रमिकका सम्बन्धमा सरकारले अहिले गरेको व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगलाई अझै थिलोथिलो बनाई बन्द गर्ने अवस्थामा पुर्याउने भन्दै महासङ्घले असन्तुष्टि जनाएको छ।
वैशाख २२, २०७८ बुधबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।