प्रधानमन्त्रीको दाबी : कोरोना विरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एसियामै दोस्रो मुलुक
उनले देशवासीको नाममा सम्बोधन गर्दै गत वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनिय सुधार गरेको, कोरोना खोप उपलब्ध गराउन नेपा दक्षिण एसियामा भारतपछि पहिलो देश रहेको दाबी समेत गरे।
प्रधानमन्त्रीका थप दाबी :
गत बर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबिच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ।
त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेनटिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ।
शून्यको सङ्ख्यामा रहेको पीसीआर परीक्षण ल्याब सङ्ख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजी स्तरका गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ।
सबैजसो अस्पताललाई कोभिडको उपचार गर्न सक्ने स्थितिमा पुर्याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा सङ्क्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ।
अप्ठ्याराकै बिचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेका छौँ। आफ्ना देशवासीलाई कोरोना विरुद्ध खोप लगाउनेमा हामी दक्षिण एसियामै भारतपछि पहिलो मुलुक हौँ। हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको छ।
दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झन्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन्। यस सङ्ख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपङ्क्तिमा खटिने व्यक्तिहरू रहेका छन्।
मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ। चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ।
वैशाख २०, २०७८ सोमबार १९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।