सुनचाँदी व्यवसायी महासंघको प्रश्न- निषेधाज्ञामा आयात भएको सुन कहाँ जान्छ?

सुनचाँदी व्यवसायी महासंघको प्रश्न- निषेधाज्ञामा आयात भएको सुन कहाँ जान्छ?

काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घले निषेधाज्ञाको अवधिमा दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताएको छ। निषेधाज्ञा अवधिभर कार्यालय बन्द गरेको महासङ्घले दैनिक २० किलो सुन ल्याउन आवश्यक नरहेको बताएको हो।

यद्यपि केही जिल्लामा कारोबार भइरहेकाले सुनको दरभाउ भने तोक्दै आएको महासङ्घका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए। अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले दैनिक २० किलो सुन ल्याउन आवश्यक उनले नदेखिएको बताए।

अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सीमित व्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक व्यवसायी र उपभोक्ताले नपाउने अवस्था आउन सक्ने आशङ्का व्यवसायीहरुको छ।  

‘विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशङ्का गरिएको थियो,’ महासङ्घले भनेको छ, ‘गत वर्षको बन्दमा झण्डै ५०० किलो सुन बैङ्कमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो, तर त्यो सुन कहाँ गयो भन्ने तथ्याङ्क महासङ्घसँग छैन।’

फेरि पनि त्यसरी सुन गायब नहोस् भन्नेतर्फ सचेत बन्न महासङ्घले आग्रह गरेको छ। सामान्यतया बैङ्कहरूबाट आयात हुने सुन १५ दिनपछि व्यवसायीको सिफारिस विना नै बैङ्कहरूले बिक्री गर्ने गरेको र त्यसको तथ्याङ्क माग नपाएको महासङ्घले बताएको छ। यसरी बिक्री गरिँदा त्यस्तो सुन सीमित व्यक्तिको हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासङ्घले जनाएको छ।

‘सरकारले निषेधाज्ञा गरी बन्द गरेको यस्तो महामारीको अवस्थामा पनि जति सुन ल्याए पनि हामी उठाउँछौँ भन्ने जस्ता अभिव्यक्ति आउनुलाई चलखेलकै रूपमा लिन सकिन्छ,’ महासङ्घले भनेको छ।

वैशाख १७, २०७८ शुक्रबार १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।