सुनसरीमा भोलिदेखि एक साता निषेधाज्ञा 

सुनसरीमा भोलिदेखि एक साता निषेधाज्ञा 

कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज (बिहीबार) आदेश जारी गर्दै वैशाख १७ गते राति १२ बजेदेखि २४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन्। 

संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको आदेशमा उल्लेख छ। 

निषेधाज्ञा अवधिभर औषधी तथा स्वास्थ्य सामाग्रीसम्बन्धी पसल खुला रहने छन्। तीबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखी बिहान ११ बजेसम्म मात्रै खोल्न पाइने आदेशमा उल्लेख छ। 

खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्नुपर्ने भनिएको छ।

सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने भएको छ । 

पत्रकारले पनि सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्र अनिवार्य गरिएको छ। होटल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। 

विवाह तथा व्रतबन्ध आयोजनाका लागि २५ जना (दुलाहा दुलहीसहित) भन्दा बढी सहभागी हुन नपाउने र उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। त्यस्ता कार्यक्रममा सहभागी भई अन्यत्र जिल्लामा जानु फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा ७ जना सम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रशासन कार्यालय, सुनसरीले जनाएको छ।  

विदेशी नागरिकको प्रवेश पूर्णरूपले नियन्त्रण गर्ने र अन्य नाकामा आवतजावत गर्न निषेध गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिको अनुमति लिनुपर्ने भएको छ। आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ। 

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ। 

त्यस्तै, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यलयले जनाएको छ। 

सार्वजनिक एवं निजी सवारी साधन, सिटी रिक्सा समेतलाई सुनसरी जिल्लाभर जोरबिजोर प्रणालीमा संचालन गर्न पाउने गरी व्यवस्था मिलाइएको छ।

अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, मासुजन्य बस्तु बोकेको सवारी साधन, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन पाइने आदेशमा उल्लेख छ।

वैशाख १६, २०७८ बिहीबार १९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।