सुदूरपश्चिममा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज (बिहीबार) कैलालीका ६, कञ्चनपुरका ३ बझाङ र अछामका एकरएक जना गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो।
कैलालीको घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका युवकको बिहीबार दिउँसो मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियुमा उपचाररत लम्की चुहा नगरपालिका–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यत जिल्लाको गोदावरी नगरपालिकाकी ८७ वर्षीया महिलाको घरमै होस आइसोलेसनमा मृत्यु भएको छ। प्रशासन कार्यालयका सूचना अधिकारी जोशीका अनुसार धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय एक पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। सेती अस्पतालमा उपचाररत संक्रमितको बिहीबार अपराह्न ज्यान गएको हो।
योसहित कैलालीमा बिहीबार मात्रै मृत्यु हुने संक्रमितको सङ्ख्या ६ पुगेको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहीबार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको बिहीबार बिहान साढे १२ बजे र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया महिलाको बिहीबार बिहान ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।
भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनी ब्लड क्यान्सरकी बिरामी रहेको बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए।
दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवक मंगलबार अस्पतालमा उपचारको लागि भर्ना भएका थिए। उनमा कडा खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ।
भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।
उता कोरोना भाइरसको सङ्क्रमणबाट बझाङमा पनि एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मस्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय, बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए।
यस्तै, कोरोना भाइरसको सङ्क्रमणका कारण अछाममा वृद्धको मृत्यु भएको छ। बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोकराज ढुंगानाको मृत्यु भएको हो।
वैशाख १६, २०७८ बिहीबार १८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।