प्रहरी भन्छन्- सूचना विभागको कार्ड देखाऊ, सिडिओ भन्छन्- पत्रकार हो भने जान देऊ

प्रहरी भन्छन्- सूचना विभागको कार्ड देखाऊ, सिडिओ भन्छन्- पत्रकार हो भने जान देऊ

काठमाडौँ : कोरोनाको कारण आजबाट लागु भएको निषेधाज्ञामा  सञ्चारकर्मीलाई आवतजावत गर्न सुरक्षाकर्मीले अवरोध पूर्याएका छन्।

प्रमुख जिल्ला अधिकारीले सूचना विभाग या सम्बन्धित सञ्चार गृहमध्ये एकको कार्ड भए आवतजावत गर्न पाइने भने पनि प्रहरीले भने सूचना विभागबाट जारी कार्ड नभए सवारीसाधन नै नियन्त्रणमा लिने गरेको छ।

प्रारम्भमा जिप्रकाले आफ्नो सूचनामा सूचना विभागको कार्ड अनिवार्य गरे पनि नेपाल पत्रकार महासङ्घको अनुरोधमा सञ्चार गृहको कार्डलाई पनि मान्ने जिप्रकाले बताएको थियो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले  सञ्चार गृहको कार्डले पनि सञ्चारकर्मीले आवतजावत गर्न सक्ने बताए।

‘हामीले सञ्चारगृहकै कार्डले पत्रकार साथीहरूलाई आवतजावत गर्न दिने भनेका छौँ,’पराजुली भन्छन्‘ प्रहरीलाई राम्रोसँग जानकारी नपुगेको हुन सक्छ। हामी सम्झाउँछौँ।’

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवर सञ्चार गृहको कार्डका आधारमा आवतजावत गर्न अनुमतीदिँदा केही नक्कली कार्ड समेत बनेको देखिएकाले पहिलो प्राथमिकता सूचना विभागको कार्डलाई दिएको बताउँदै भने' सिडियोसपको कुरा पनि अस्वीकार गरेको हैन। तर पहिलो प्राथमिकता सूचना विभागको कार्ड नै हो।'

कोरोना नियन्त्रणका लागी सरकारले सहरी क्षेत्रमा ५ सय र पहाडी क्षेत्रमा २ सय सङ्क्रमित देखिए निषेधाज्ञा जारी गर्ने अनुमति स्थानीय निकायलाई दिएको छ। सोही अनुसार काठमाडौँ, भक्तपुर, ललितपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी भएको छ।

अत्यावश्यक सेवा बाहेकका निजी तथा सार्वजनिक गाडी चलेका छैनन् भने प्रहरीले चोक चोकमा कडा चेकजाँच गरिरहेको छ।

वैशाख १६, २०७८ बिहीबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।