काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू, पास नभएका २ सय गाडी नियन्त्रणमा
काठमाडौँ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको छ। आज बिहान ६ बजेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा लागू भएको हो। कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै लागू भएको निषेधाज्ञा वैशाख महिनाभर कायम रहनेछ।
निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकाका सडकमा अत्यावश्यक सेवाका गाडी फाट्टफुट्ट चलेका छन्। खाद्यान्न, फलफूल, फोहोर मैला र पानी बोकेका गाडी चलेका छन्।
अत्यावश्यक बाहेकका २ सय गाडीलाई प्रहरीले होल्ड गरेको छ। ट्राफिक प्रहरीका प्रवक्ता श्यामकृष्ण अधिकारीले पास नभएका गाडी र मोटरसाइकल गरी २ सय सवारी साधनलाई होल्ड गरिएको जानकारी दिए।
प्रहरीका अनुसार विना काम पैदल हिड्नेहरुलाई पनि होल्ड गरिनेछ। निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न अनुरोध गरिएको छ।
विवाह, व्रतबन्ध लगायतका कर्म गर्दा बढीमा १५ जना सहभागी हुन पाइने तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरेका छन्। डिपार्टमेन्ट स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन र अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन गर्न रोक लगाइएको छ। निषेधाज्ञा उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन, २०२० अनुसार एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ।
आज बिहानैदेखि काठमाडौँ भित्रिने नाकाहरूमा कडाइ गरिएको छ। कोरोनाको पहिलो लहर सुरु भएसँगै सरकारले २०७६ चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो।
वैशाख १६, २०७८ बिहीबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।